काठमाडौं - दक्षिण कोरियाली फुटबलमा करिब डेढ दशक पुरानो एउटा घटनाले अहिले ठूलो तरंग ल्याएको छ। अन्तर्राष्ट्रिय खेलअघि विदेशी रेफ्रीहरूलाई ‘यौन सेवा’ उपलब्ध गराएको आरोप लागेपछि दक्षिण कोरिया फुटबल संघ (केएफए) आलोचनाको केन्द्रमा परेको छ। आरोप सार्वजनिक भएपछि संघले विगतमा त्यस्ता ‘अप्रिय घटना’ भएकोमा दुःख व्यक्त गर्दै अहिले भने कडा आन्तरिक व्यवस्थापन निर्देशिका लागू गरिएको जनाएको छ।
दक्षिण कोरियाली सञ्चारमाध्यम जेटीबीसीले गरेको अनुसन्धान अनुसार सन् २०११ देखि २०१२ को अवधिमा केएफएले विदेशी रेफ्रीहरूलाई ‘यौन सेवा’ उपलब्ध गराएको दाबी गरिएको छ। अनुसन्धानमा विश्वकप छनोट, ओलम्पिक छनोट तथा मैत्रीपूर्ण खेलसहित कम्तीमा सात खेलसँग सम्बन्धित खर्चको विवरण भेटिएको उल्लेख छ।
रिपोर्टअनुसार जापान, संयुक्त अरब इमिरेट्स (यूएई), इरान, बहराइन र उज्बेकिस्तानलगायत देशका रेफ्री तथा म्याच अफिसियलहरूलाई दक्षिण कोरियाका विभिन्न सहरमा रहेका मसाज पार्लरमा लगिएको थियो। ती स्थानमा गरिएको खर्चको बिल तिर्न केएफएको कर्पोरेट क्रेडिट कार्ड प्रयोग गरिएको दाबीसमेत गरिएको छ। जेटीबीसीको अनुसन्धानले त्यतिबेला करिब २० जना म्याच अफिसियलले यस्तो सेवा लिएको देखाएको छ।
यो विषय अझ गम्भीर बन्नुको कारण तीमध्ये केही खेल विश्व फुटबलका महत्वपूर्ण प्रतियोगिताको छनोटसँग जोडिनु हो।
रिपोर्टमा सन् २०१४ को ब्राजिल विश्वकपका लागि भएको छनोट तथा सन् २०१२ को लन्डन ओलम्पिक छनोटका खेलहरूमा समेत यस्तो गतिविधि भएको उल्लेख छ। २०११–१२ को सो अवधिमा दक्षिण कोरियाले सम्बन्धित सात खेलमा पाँच जित र दुई बराबरीको नतिजा निकालेको थियो। यद्यपि, ती खेलमा रेफ्रीको निर्णय वास्तवमै त्यस्तो ‘सेवा’बाट प्रभावित भएको प्रमाणित भने भएको छैन। यही कारण घटनालाई लिएर अहिले दक्षिण कोरियाली फुटबलमा पारदर्शिता, नैतिकता र निष्पक्षताबारे बहस चर्किएको छ।
जेटीबीसीले सार्वजनिक गरेको अनुसन्धानका आधारमा यस्तो खर्च तत्कालीन समयमा ‘चलन’ जस्तै रहेको एक पूर्वकेएफए अधिकारीको बताएका छन्। संघले भने अहिले त्यस्तो अभ्यास नरहेको र संस्थाभित्र कडा व्यवस्थापन निर्देशिका लागू गरिएको दाबी गरेको छ।
यो प्रकरण सार्वजनिक हुनासाथ केएफएको विगतको कार्यशैलीमाथि प्रश्न उठेको छ। विशेषगरी अन्तर्राष्ट्रिय खेलको निष्पक्षता कायम गर्ने जिम्मेवारी बोकेको राष्ट्रिय फुटबल संघले नै रेफ्रीलाई प्रभावित पार्न सक्ने प्रकृतिको आतिथ्य गरेको भए त्यसले फुटबलको आधारभूत नैतिक मान्यतामाथि प्रहार गर्ने भन्दै आलोचना भएको हो। फुटबलमा रेफ्रीलाई खेलअघि कुनै पनि प्रकारको आर्थिक, भौतिक वा व्यक्तिगत लाभ उपलब्ध गराउनु गम्भीर नैतिक प्रश्नसँग जोडिन्छ। अझ त्यसको उद्देश्य रेफ्रीबाट अनुकूल निर्णय प्राप्त गर्नु थियो भने त्यो खेलको निष्पक्षता र प्रतिस्पर्धात्मक विश्वसनीयतामाथि सीधा प्रहार मानिन्छ।
यो घटना बाहिरिएको समयमा दक्षिण कोरियाली फुटबल आफैं अन्य विवादबाट गुज्रिरहेको छ। हालै मात्र राष्ट्रिय टोलीका प्रशिक्षक हङ म्युङ–बोको पुनर्नियुक्तिसँग सम्बन्धित प्रक्रियामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले गत अगस्ट ६ मा केएफएको कार्यालयमा छापा मारेर प्रशिक्षक नियुक्तिसम्बन्धी प्रक्रियाको अनुसन्धान गरेको थियो। त्यसअघि सन् २०२६ को विश्वकपमा दक्षिण कोरियाको निराशाजनक प्रदर्शनपछि पनि केएफएमाथि व्यापक आलोचना भएको थियो। दक्षिण कोरिया विश्वकपको समूह चरणबाटै बाहिरिएपछि संघले परिणामप्रति आधिकारिक रूपमा माफी माग्दै आलोचनालाई गम्भीरतापूर्वक सुन्ने प्रतिबद्धता जनाएको थियो।
अहिले सार्वजनिक भएको पुरानो रेफ्री प्रकरणले दक्षिण कोरियाली फुटबलको नेतृत्वमाथि थप दबाब सिर्जना गरेको छ। घटना डेढ दशक पुरानो भएकाले यसमा अहिले तत्काल कुनै खेलसम्बन्धी कारबाही हुने सम्भावना नरहे पनि यसको नैतिक र संस्थागत प्रभाव भने लामो समयसम्म रहने जनाइएको छ। सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको, त्यतिबेला यस्तो गतिविधि भएको भए त्यसको जिम्मेवारी कसले लिने र त्यसबाट प्रभावित खेलहरूको विश्वसनीयता कसरी पुनस्र्थापित गर्ने भन्ने हो।
दक्षिण कोरियाली फुटबल संघले अहिले आफ्नो प्रणाली सुधारिएको दाबी गरेको छ। तर आलोचकहरूका लागि माफी वा दुःख व्यक्त गर्नु मात्र पर्याप्त नहुन सक्छ। उनीहरूले घटनाको स्वतन्त्र छानबिन, त्यसबेलाका निर्णय प्रक्रियाको समीक्षा र भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने ठोस प्रतिबद्धता आवश्यक रहेको
बताएका छन्।
विश्व फुटबलमा रेफ्रीको निष्पक्षता खेलको मेरुदण्ड मानिन्छ। मैदानमा हुने हरेक निर्णयमाथि खेलाडी, प्रशिक्षक र समर्थकको विश्वास कायम रहनुपर्छ। त्यसैले रेफ्रीलाई यौन सेवा उपलब्ध गराएको आरोप केवल एउटा पुरानो प्रशासनिक कमजोरीको विषय नभई फुटबलको निष्पक्षता र विश्वसनीयतासँग जोडिएको गम्भीर प्रश्न बनेको छ। दक्षिण कोरियाली फुटबल अहिले यही प्रश्नको सामना गरिरहेको छ। मैदानमा खेलाडीले जितेको खेलको परिणाममाथि विश्वास गर्ने आधार कति बलियो छ, यदि मैदानबाहिर रेफ्रीलाई प्रभावित पार्ने प्रयास भएको थियो भने ? यही प्रश्नको स्पष्ट जवाफ दिनु अब केएफएको सबैभन्दा ठूलो चुनौती बनेको छ।


0 comment