काठमाडौं - त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा दोहोर्‍याएर खोजी गर्दा पनि थप कोही फेला नपरेको जनाइएको छ। सुरुङभित्र करिब ४० जना फसेको आशंका गरिएको थियो। खोजी तथा उद्धारका क्रममा आज बिहान दुई जनालाई जीवितै उद्धार गरिएको थियो भने एक जनाको शव फेला परेको थियो।

खोजी कार्यमा संलग्न इन्जिनियर उदय न्यौपानेका अनुसार सुरुङको पूरै खण्डमा दोहोर्‍याएर खोजी गर्दा थप कोही पनि फेला परेका छैनन्। न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले पनि पूरै खण्डभित्र गएर फेरि जाँच गरेँ, तर कोही पनि भेटिएन।’

नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरीका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोलीले सुरुङभित्र खोजी तथा उद्धार गरेको थियो। टोलीले दुई जनालाई जीवितै उद्धार गरेको हो। उद्धार गरिएका दुवै जनाको काठमाडौंस्थित वीरेन्द्र अस्पताल, छाउनीमा उपचार भइरहेको जनाइएको छ।