काठमाडौं - खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ ।

विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार हालसम्म ५२६ जना रोहिङ्ग्या नेपालमा रहेका छन् । जसमा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन् । उनीहरू काठमाडौँको कपन, लसुनटार र राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब महानिरीक्षक काफ्लेले सीमा क्षेत्रका प्रहरीलाई यस्ता व्यक्तिको अवैध प्रवेश रोक्न निर्देशन दिइएको बताए । “खुला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाले पहिचानमा समस्या भएको छ”, प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाइएको छ ।”