काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशन ठिक थियो भनेर फेरि एकपटक पुष्टि गर्ने अवसर मिलेको टिप्पणी गरेका छन्। 

काठमाडौंमा आज भएको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति थापाले विशेष महाधिवेशन विधानअनुसार भएकोले सर्वोच्चले फेरि एकपटक पुष्टि गर्ने अवसर दिलाएको बताए । विशेष महाधिवेशनसम्बन्धी फैसलाको पुनरवलोकन गर्न सर्वोच्चले बिहीबार अनुमति दिएको सन्दर्भलाई जोडेर उनले यस्तो बताएका हुन् ।विधानअनुसार गरिएको वैधानिक कामको प्रतिरक्षा गर्ने सभापति थापाले बताए ।

सर्वोच्चबाट वैधानिक भइसकेकोमा फेरि एक पटक यसको पुष्टि गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने, ‘हामी अदालतको प्रक्रिया स्वीकार गर्दै सानका साथ हामीले विधानअनुसार गरेको वैधानिक कामको प्रतिरक्षा गर्छौं।’ 

उनले विशेष महाधिवेशनमा सहभागी नरहेकाहरूलाई पनि नियमित १५ औं महाधिवेशनमा समेटेर लगिने बताए।सभापति  थापाले वर्तमान सरकार शासकीय अराजकता तर्फ उन्मुख भएको दाबी गरे।  मन्त्री र सांसदहरूबाटै उत्तेजक र धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक हुनुले विधिको शासनलाई चुनौती दिएको उनको भनाइ थियो।

लोकतान्त्रिक पद्धतिमा विधिको शासन सर्वोपरि हुने उल्लेख गर्दै थापाले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताए। विभिन्न माग राखेर आन्दोलनरत पक्षहरूसँग सरकारले गर्ने सम्झौता कार्यान्वयन नभएको, लघुवित्त र सहकारी पीडित, शिक्षक, नर्स तथा चिकित्सकहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको सभापति थापाको भनाइ छ। सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नहुँदा नागरिकको भरोसा राज्यबाटै टुट्दै जाने खतरा रहेको उनले बताए।