काठमाडौं - नेकपा एमालेले सांसदहरुले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरुले पाउने स्वकीयको मापदण्ड लगाएतका कार्यविधि निर्माण गरेर पारित गरेको हो ।

त्यस्तै संसदमा छलफलका क्रममा रहेका विधेयकहरूलाई परिमार्जन र प्रभावकारी बनाउन गहन अध्ययन, विशेषज्ञहरूसँग छलफल र संशोधन प्रस्तावमा भाग लिने कुरामा जोड समेत दिइएको एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।

सरकारले ल्याएका विधेयकहरु सोही रूपमा पास गर्दा भविष्यमा जोखिम वा खतरा देखिने भएकाले त्यसलाई परिस्कृत बनाउनुपर्ने उनले बताइन् ।

त्यस्तै सरकारले विद्यार्थीहरूलाई सैन्य तालिम दिने जस्ता असान्दर्भिक विषय ल्याउनुको सट्टा जनताका वास्तविक जनजीविका र कानुन निर्माणका मुद्दाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताइन्।