काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादीले सभामुखका लागि कांग्रेसकी ईश्वरी न्यौपानेलाई समर्थन दिएको छ।
बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको भेटपछि समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले कांग्रेसको तर्फबाट सभामुख उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन दिएका हुन्।
न्यौपानेले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावक र ज्वालाको समर्थनमा सभामुख पदमा उम्मेदवारी दिएकी छन्। सभामुख पदमा सहयोग गर्न देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि छलफल गरिरहेका छन्।
सत्तारुढ दलसमेत रहेका जसपा र जनमतले भागबण्डामा असन्तुष्टि जनाएका छन्। भागबण्डामा मनपरी गरेको भन्दै जसपा सरकारमा सहभागी नै भएन भने जनमत आफूले खोजेको मन्त्रालय नपाएपछि समर्थन फिर्ता लिने तयारीमा छ।
आफूलाई प्रमुख प्रतिपक्षीकै रूपमा उभ्याउने घोषणा गरिरहेका देउवाले सत्ता साझेदार दलका असन्तुष्ट पक्षहरूलाई मिलाएर लैजाने नीति अपनाएका छन्। सोहीअनुरूप उनले माधव नेपालसहित नेताहरूसँग संवाद गरिरहेका छन्।

0 comment