काठमाडौं - धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्यत्रै सारिएको भन्दै आन्दोलन चर्किएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि विवाद चर्किएको हो ।
हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो ।
उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि पूरा भइसकेर लालपूर्जा बनिसकेको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले बताए । शिलान्यासको संघारमा रहेको उक्त योजना स्वास्थ्य मन्त्रीको अभिव्यक्तीले विवादमा तानिएको उनले बताए ।
स्थानीय जनप्रतिनिधिसमेतको उपस्थितीमा बुधबार साँझ स्थानीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ढल्केवरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्न नपाइने भन्दै करिब आधा घण्टा चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् । स्वास्थ्यमन्त्री मेहताले सदनबाटै अभिव्यक्ति नसच्याएसम्म सशक्त आन्दोलन जारी रहने मिथिला उद्योग वाणिज्य संघका संरक्षक सल्लाहकार तेजनारायण साहले बताए ।
ट्रमा सेन्टरकै विषयमा बुधबार बसेको सर्वपक्षीय बैठकले मिथिलाका मेयर महेन्द्र महतोको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । उक्त समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा, उद्योग वाणिज्य संघ, युवा, वुद्धिजीविततर्फका प्रतिनिधिहरु समावेश गरिएको छ ।
समितिले बिहिबार बैठक बसेर चरणबद्ध आन्दोलनको घोषणा गर्ने संघर्ष समितिका सदस्य समेत रहेका नेपाली कांग्रेसका नेता बुधेश्वर महतोले जानकारी दिए ।


0 comment