काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशम्शेर राणा र मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गर्ने भएका छन्।

राणाका अनुसार साउन २८ गते पार्टी घोषणा गरी सोही दिन निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारी गरिएको छ। नयाँ पार्टीको अध्यक्ष राणा र सर्वोच्च नेता प्रसाईं रहने सहमति भएको छ।

राणाले गत जेठ १७ गते राप्रपा परित्याग गरेका थिए। त्यसपछि प्रसाईंसँग नयाँ दल गठन गर्ने सहमति भएपछि दुवै जना तयारीमा जुटेका थिए। प्रसाईं विगतमा माओवादी,एमाले र राप्रपा निकट रहँदै नयाँ पार्टीको सर्वोच्च नेता बन्ने तयारीमा छन् । दुबै नेता नेपालमा राजसंस्था पुनस्थापना र हिन्दु राष्ट्र कायम गर्नुपर्छ भन्ने पक्षमा एकमत रहँदै निकट भएका हुन् ।