काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) ले संस्थाभित्र हुने सम्भावित भ्रष्टाचार, आर्थिक अनियमितता र बेथितिविरुद्ध प्रमाणसहित भ्रष्टाचार, बेथिति र आर्थिक अनियमितता छानवीन समितिमा २० दिन भित्र उजुरी दिन सर्वसाधारण, स्वयंसेवक तथा सरोकारवालासँग आह्वान गरेको छ।

सोसाइटीले सार्वजनिक गरेको सूचनामा संस्थामा भ्रष्टाचार, बेथिति र अनियमितताप्रति शून्य सहनशीलता अपनाउने प्रतिबद्धता दोहोर्याउँदै हाल विभिन्न तहमा आर्थिक अनियमितता र बेथितिसम्बन्धी समाचार सार्वजनिक भइरहेकाले त्यसको निष्पक्ष छानबिनका लागि उजुरी संकलन सुरु गरिएको उल्लेख गरिएको छ।

सूचनाअनुसार असार दस गते प्रकाशित भएको मितिले ३५ दिनभित्र तथ्य र प्रमाणसहित उजुरी दर्ता सम्पन्न भयाे र अझ २० दिन समय थप गरिएको जानकारी समितिले अाज अायाेजित कार्यक्रममा जानकारी गरिएको छ। उजुरीकर्ताले आफ्नो परिचय गोप्य राख्न चाहेमा संस्थाले गोपनीयताको पूर्ण संरक्षण गर्ने जनाएको छ।

प्राप्त उजुरी र गुनासोको छानबिन, अध्ययन तथा अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेश घिमिरेको नेतृत्वमा अधिवक्ता यशश्वी थापा र चार्टर्ड एकाउन्टेन्ट सतीश सुवेदी सम्मिलित भ्रष्टाचार, बेथिति र आर्थिक अनियमितता छानवीन समिति स्वतन्त्र टोली गठन गरिएको सूचनामा उल्लेख छ।

उजुरीका लागि:

gunaso@nrcs.org इमेलमार्फत,

हुलाकबाट, वा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय, रेडक्रस मार्ग, कालिमाटी, काठमाडौंमा लिखित रूपमा बुझाउन सकिनेछ।

साथै, निःशुल्क हटलाइन ११३० (बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म) तथा ह्वाट्सएप ९७६७९६१०२७ मार्फत पनि गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

नेपाल रेडक्रस सोसाइटीले प्राप्त हुने सबै सूचना र उजुरीलाई निष्पक्ष, स्वतन्त्र र गोपनीय रूपमा व्यवस्थापन गरिने जनाएको छ। साथै, संस्थामा सुशासन, पारदर्शिता र जनविश्वास अभिवृद्धि गर्ने अभियानमा सबै पक्षको सहयोगको अपेक्षा गरेको छ।