काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले जनकपुरधाम भ्रमणका क्रममा आफूलाई जानकी मन्दिर प्रवेश गर्न अवरोध गरिएको घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्न व्यक्तिमाथि छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले कानुनी राज्यमा प्रत्येक नागरिकलाई देशको जुनसुकै क्षेत्रमा निर्वाध रूपमा आवतजावत गर्ने संवैधानिक अधिकार रहेको उल्लेख गरे। साउन ५ गते जनकपुरधामस्थित जानकी मन्दिर प्रवेश गर्ने क्रममा आफूलाई अवरोध गरिएको स्मरण गराउँदै उनले यस्तो व्यवहार कानुनी शासनको मर्मविपरीत भएको बताए।
‘मेरो घरको छेउमा नआइजा, मेरो बाटो नहिँड भन्ने खालको व्यवहार भइरहेको छ। यो कानुनी राज्य हो कि जंगली राज्य?’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
त्यसैगरी, उनले संसद् सहमति र संवादको थलो भए पनि सरकारले संसद्को सम्मान नगरेको आरोप लगाए। सीमासम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र साहले प्रतिनिधिसभामा स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई उक्त विषयमा रुलिङ नगरेकोप्रति पनि असन्तुष्टि व्यक्त गर्दै साम्पाङले, “तपाईंलाई पनि नेपालले भारतको भूमि मिचेको भन्ने लागेको हो?” भन्दै सभामुखलाई प्रश्न गरेका थिए।


0 comment