काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय एकता र सद्भाव कायम गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा मधेस केन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सवै पक्षसँग समन्वय गर्दै राष्ट्रिय एकता र सद्भाव कायम गर्न सरकार गम्भीर भएर लागेको बताए । सुनसरी लगाएतका स्थानमा देखिएका समस्या समाधान गर्न आफू संवेदनशील र प्रतिबद्ध भएको समेत प्रधानमन्त्रीले बताएको छलफलमा सहभागी मधेस केन्द्रित राजनीतिक दलका नेताहरुले बताएका छन्। छलफलपछि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएको भन्दै छलफल धेरै नै सकारात्मक कदम भएको बताए । तराईका केही जिल्लामा देखिएको समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको उनले बताए ।

नेतााहरुले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरेका थिए।छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता सहभागी थिए । 

चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री शाहले ढिलो गरी हिजो देशवासी नाममा सम्बोधन गरेका थिए ।  सुनसरी घटनामा गोली लागेर तीन जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले तोडफोड र आगजनीमा उत्रिए । सुनसरीको हिंसात्मक द्वन्द्वको झिल्को तराईका सबै जिल्लामा सल्किन लागेपछि प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । स्थानीय प्रशासनले झडप हुन सक्ने स्थानमा कर्फयु लगाएको छ ।