काठमाडौं - धनुषाका निजी विद्यालयहरूले शुक्रबारदेखि तीन दिनका लागि पठनपाठन स्थगित गरेका छन्। हिसान धनुषा, एन–प्याब्सन, प्याब्सन र एम–प्याब्सन धनुषाले संयुक्त विज्ञप्ति जारी गर्दै साउन १५ गते शुक्रबारदेखि जिल्लामा आबद्ध सबै विद्यालय तथा क्याम्पसको पठनपाठन स्थगित गरिएको जनाएको हो। सुनसरीसहित विभिन्न जिल्लामा हालै भएका घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै पठनपाठन स्थगित गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा पछिल्ला केही दिनयता विभिन्न स्थानमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि बढ्नुका साथै विभिन्न सङ्घ–संस्थाले बजार बन्दको आह्वान गरेका कारण विद्यार्थीको आवतजावत प्रभावित हुन सक्ने अवस्था सिर्जना भएको उल्लेख छ। विद्यार्थीको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राख्दै पठनपाठन अस्थायी रूपमा स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ।

विद्यालय सञ्चालक संस्थाहरूले सम्बन्धित पक्षबिच तत्काल संवाद गरी विवादको शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक सद्भाव कायम राख्न सरकारसँग आग्रह गरेका छन्। विद्यालयबाट घर फर्किने विद्यार्थीको सुरक्षित आवतजावत सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आवश्यक सहजीकरण गरिदिन पनि अनुरोध गरिएको छ।