काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान विषम परिस्थितिमा राष्ट्रिय एकता, शान्ति र स्थायित्व कायम गर्न सबै पक्षलाई संवाद, सहमति र सहकार्यको मार्ग अपनाउन आह्वान गरेका छन्।
बिहीबार जारी गरेको वक्तव्यमा अध्यक्ष ओलीले द्वन्द्व र हिंसाबाट कुनै पनि समस्याको समाधान सम्भव नभएको उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्र मुलुकलाई वर्तमान जटिल अवस्थाबाट निकास दिन सकिने बताएका छन्।
उनले राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा र सामाजिक सद्भाव चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आग्रह गरेका छन्।
ओलीले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूले आपसी प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकको शान्ति, सुरक्षा र स्थायित्वका लागि साझा प्रयास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
वक्तव्यमा उनले जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य हासिल गर्ने षड्यन्त्रहरू हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन्। एमालेका नेता–कार्यकर्ता, अन्य राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा आमनागरिकलाई कुनै पनि प्रकारका भ्रामक प्रचारको पछि नलाग्न, संयमित रहन तथा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न उनले अनुरोध गरेका छन्।
अध्यक्ष ओलीले राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दासमेत सरकारले आवश्यक संवेदनशीलता नदेखाएको आरोप लगाएका छन्। उनले सरकारको उदासीनता, अत्यधिक बल प्रयोग तथा मौनतालाई शंकास्पद र भर्त्सनायोग्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले मुलुकको शान्ति र लोकतान्त्रिक वातावरणमा थप चुनौती सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।
उनले पुनः जोड दिँदै द्वन्द्व र हिंसाको बाटो त्यागेर संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्र राष्ट्रिय समस्या समाधान गर्न सकिने बताएका छन्।


0 comment