काठमाडौं - प्रतिनिधिसभाको बैठक जारी छ ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेकी हुन् ।
प्रमुख सचेतक थापाले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा ओमप्रकाश गुप्ताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा सदनको ध्यानाकर्षण गराउदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन् ।
सरकारको नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले प्रधानमन्त्री र गृहमन्त्रीको मौनतामाथि कडा टिप्पणी गरिन् ।
यति गम्भीर विषयमा प्रधानमन्त्री मौन हुनुहुन्छ । कुरा–कुरामा आँसु झार्ने गृहमन्त्री पनि आज मौन बस्नु आश्चर्यजनक छ । नेतृत्व भनेको केवल प्रशासन चलाउनका लागि मात्र होइन, नागरिकको जीउधनको रक्षाका लागि पनि हो,’ थापाले भनिन् ।
प्रमुख सचेतक थापाले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन् ।
यसैगरी नेकपा एमालेले नेकपा एमालेले पनि सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।
आजको बैठकमा सांसद पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।
उनले प्रधानमन्त्री यति ठुलो घटना हुँदा कहाँ छन् भन्दै प्रश्न समेत गरिन् ।
यसअघि प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका थिए। आज डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।


0 comment