काठमाडौं - संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् । 

मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीका विषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरुले सरकारसँग सांसदहरुको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् । छलफलपछि कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रतिनिधिसभा बैठकको क्यालेन्डर बनाउने र संसदीय प्रक्रियालाई मर्यादित बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिइन् ।

उनले सीमा विवादको सम्बन्धमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म विरोध कायमै रहने समेत जानकारी गराएको बताइन्। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आफूहरुले सुझाव दिएको भन्दै उनले सत्ता पक्षका प्रमुख सचेतकले प्रधानमन्त्रीसँग छलफल गराउने प्रतिबद्धता सभामुखमार्फत व्यक्त गरेको बताइन् ।

त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले नियमावली अनुसार महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको उत्तर दिने व्यवस्थालाई कडाइका साथ लागू गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए । कानुन मन्त्रीले प्रतिबद्धता जनाए पनि १४ गतेबाट सुरु हुने बैठकका लागि अहिलेसम्म एउटा पनि नयाँ विधेयक दर्ता नभएकोप्रति आफूहरुले ध्यानाकर्षण गराएको उनले बताए ।

छलफलपछि रास्वपा सचेतक प्रकाशचन्द्र परियारले भने सरकारले संसदलाई पर्याप्त बिजनेस उपलब्ध गराएकाले दसैँ अघिसम्म संसद निरन्तर र सुचारु रूपमा चल्ने दाबी गरे । संसद्को मर्यादा, मूल्य, मान्यता र परिणाममुखी सञ्चालनका लागि सवै दलहरु संवेदनशील र जिम्मेवार हुने छलफलको निष्कर्ष रहेको उनले बताए । उनले पछिल्लो समय आकस्मिक समयको प्रयोग गरेर मूल विषयभन्दा बाहिर जाने र टिकाटिप्पणी हुने प्रवृत्ति बढेकाले त्यसमा सुधार ल्याउने सहमति भएको जानकारी दिए ।

सो क्रममा सभामुख अर्यालले मर्यादीत ढंगले सदनको कामकारबाहीलाई अघि बढाउन आग्रह गरे । करिब दुई साताका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक यहि साउन १४ गते बस्दैछ ।