काठमाडौं - आन्तरिक राजस्व विभागले विद्युत् खपतमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) साउन  १ देखि मात्र लागू हुने स्पष्ट पारेको छ।

आर्थिक ऐन, २०८३ मार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५३ संशोधन गर्दै सरकारले विद्युत् सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्यक्तिका हकमा १३ प्रतिशतका दरले भ्याट लगाउने व्यवस्था गरेको थियो। तर उक्त व्यवस्थाको कार्यान्वयनको मिति र दायराबारे उपभोक्ता तथा सरोकारवालाबीच अन्योल देखिएको थियो।

आर्थिक ऐनमा भ्याट सम्बन्धी व्यवस्था  साउन १ देखि लागू हुने स्पष्ट उल्लेख भएकाले सोही मितिदेखिको खपतमा मात्र कर आकर्षित हुने विभागले जनाएको छ। विभागका अनुसार  असार ३२सम्मको विद्युत् खपतको बिलिङ साउन १ मा जारी भए पनि उक्त अवधिको खपतमा भ्याट लाग्दैन।

विभागले  असार ३२सम्मको खपतमा कुनै उपभोक्ताबाट भ्याट असुल गरिएको भए त्यस्तो कर छुट गरिने जनाएको छ।