काठमाडौं — बालश्रम निवारणका लागि ईट्टा उद्योग महासंघको भूमिका र वातावरणमैत्री (नवप्रवर्तन) ईट्टा उत्पादनलाई कसरी प्रभावकारी बनाउने सवालमा सरोकारवालासँग गोष्ठी सम्पन्न भएको छ । विशेषगरी वातावरण विभाग र युवा, श्रम तथा रोजगार मन्त्रालयको सहजीकरणमा भएको सो गोष्ठीमा बालश्रम निवारणका लागि नीतिगत व्यवस्था कसरी कार्यान्वयमा गइरहेको छ ? सरकारले बालश्रमका सम्बन्धमा बनेका नीति ऐनलाई आवश्यकताका आधारमा कसरी परिमार्जित गर्दैछ ? लगायतका विषय साथै नीतिगत व्यवस्था कार्यान्वयनका लागि उद्योगीहरुको भूमिका कसरी ठोस बनाउन सकिन्छ ? भन्ने सवालहरुमा छलफल तथा प्रस्तुती गरिएको थियो । त्यसैगरी वातावरणमैत्री ईट्टा उत्पादनका लागि सरकार उद्योगीहरुसँग कसरी एकैसाथ अगाडी जान सक्छ ? र ईट्टा उद्योगमा नवप्रवर्तनको अवलम्बनमा राज्यको दायित्व र सरोकारवालाको भूमिकालाई साझा बुझाइको रुपमा धारणा बनाउनका लागि पनि गोष्ठीमा विस्तृत छलफल भएको थियो ।
गोष्ठीमा लुम्बीनी प्रदेश ईट्टा उद्योग संघ मधेश प्रदेश ईट्टा उद्योग संघ लगायत विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने ईट्टा उद्योग संघका पदाधिकारीहरुले आ आफ्नो धारणा राखेका थिए । विशेष गरी राज्यले प्रदुषणको स्रोत ईट्टा उद्योग मात्रै हो भनेजसरी व्यवहार गर्ने र यिनै उद्योगहरुमा मात्रै बालबालिकालाई श्रममा लगाइन्छ भन्ने जस्ता सवालले उद्योगीहरुलाई दुखी बनाएको बताएका थिए ।
बालबालिका उद्योगमा हैन विद्यालयमा हुनुपर्दछ उनीहरुको शिक्षा पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्ने सवालमा उद्योगीहरु सधै सचेत रहे तापनि केही व्यवहारिक कठिनाइहरु रहेको कुरा उद्योगीहरुले राखेका थिए । उद्योगलाई वातावरणमैत्री बनाउने सवालमा नवप्रर्वतनको प्रयोगमा राज्यले नै अनुदानको व्यवस्था गर्नुपर्ने कुरामा उद्योगीहरुको जोड थियो । उद्योगमा काम गर्ने कामदारको स्वास्थ्य अवस्था साथै उद्योग वरपर रहेका समुदायको स्वास्थ्य अवस्थामा उद्योगबाट निस्कने धुवाँले असर गर्छ भन्ने भएर नै उद्योगबाट निस्केने प्रदुषणलाई कम गर्ने अभियानमा सबै देशैभरीमा उद्योगीहरुको एकमत रहेको हुनाले धेरै उद्योगहरु प्रविधिमैत्री वातावरणमैत्री बनिसकेको कुरा पनि वक्ताहरुले बताएका थिए । सरकारले कानुन देखाएर उद्योगीहरुलाई च्याप्ने भन्दा पनि रोजगार प्रवद्र्धनमा कसरी उद्योगीहरुलाई प्रोत्साहन गर्ने र सरकारका कार्यक्रम योजनाहरुमा उद्योगीका पीडालाई सम्बोधन गर्ने सवालमा पनि सरकारको ध्यान हुनुपर्नेमा उद्योगीहरुको साझा जोड थियो ।
गोष्ठीमा ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष, महासचिवले पनि बालश्रम निवारण र वातावरणमैत्री ईट्टा उत्पादनका सवालमा कुनै एक निकायको मात्रै भूमिका नभएर सबैको साझा अभियान बन्नुपर्नेमा जोड दिएका थिए । बालअधिकार प्रत्याभूत गराउने कुरामा उद्योगलाई नवप्रवर्तनको मार्गमा विकास गरी स्वच्छ वातावरणमैत्री उत्पादनका विषयमा महासंघ संवेदनसिल नै छ र यस सवालमा साझा बुझाइको विकास गरी सरकार एवं राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरुसँग साथमा साथ, हातमा हात मिलाएर साझेदार गर्न सधै प्रतिवद्ध रहेको उहाँहरुको भनाई थियो । गोष्ठीमा विगतमा ईट्टा उद्योग महासंघले बालश्रम निवारण, लगायतका सवालमा गरेका प्रतिवद्धताहरुलाई कार्यान्वयन गर्दै वातावरणमैत्री ईट्टा उद्योग निर्माणलाई एउटा साझा अभियानको रुपमा अगाडी बढाउने गरी सामुहिक प्रतिवद्धतामा हस्ताक्षर समेत भएको थियो ।
गोष्ठीका लागि बाल विकास समाज र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग रहेको थियो भने ईट्टा उद्योग महासंघ नेपाल, वातावरण विभाग र युवा, श्रम तथा रोजगार मान्त्रालयसँग समन्वय रहेको थियो । गोष्ठीमा प्रदेश तहका जिल्ला तहका ईट्टा उद्योगीहरु साथै ईट्टा उद्योग महासंघका सबै पदाधिकारीहरु वातावरण विभागबाट वातावरण निरिक्षक युवा, श्रम तथा रोजगार मन्त्रालयबाट श्रम समन्वय शाखाका अधिकृत, वल्र्डभिजन ईन्टरनेशनल नेपाल र बाल विकास समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । करिब १२ सय ३६ वटा ईट्टा उद्योगहरु दर्ता भए तापनि हाल करिब ८ सय वटा जती मात्रै ईट्टा उद्योगहरु देशभर सञ्चालनमा रहेको पाइन्छ । ईट्टा उद्योगलाई सरकारले जोखियुक्त कार्यक्षेत्रको रुपमा वर्गीकरण गरेको हुनाले पनि श्रमिकका सवाल बालश्रमिकका सवाल स्वास्थ्य र स्वच्छ वातावरणको सवालमा विशेष छलफल र समिक्षा हुने गरेको पाइन्छ ।




0 comment