काठमाडौं - त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डीन कार्यालयले एमबीबीएस प्रथम सत्रको एमजीटी ५१५ ‘अर्गनाइजेशन बिह्याावियर’ विषयको प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन गरेको छ । व्यवस्थापन संकाय परीक्षा सञ्चालन समितिको आइतबार बसेको बैठकले प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन गरेको हो ।
एमबीबीएसको प्रश्नपत्र बाहिरिएको घटना के हो ? कोबाट, कसरी गैरकानुनी काम भएको हो सत्यतथ्य पत्ता लगाई दोषीउपर कानुनी कारवाही सिफारिसका लागि छानविन समिति गठन गरिएको डीन कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न व्यवस्थापन केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् ।
साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डीनको कार्यालयले छानविन समिति गठन गरेको हो । परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो । ‘एमबीएस फस्र्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेपछि फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ ले स्क्रिनसटसहित त्रिविको ध्यानाकर्षण गराएको थियो । सार्वजनिक सामग्रीमा प्रश्नपत्र पठाइएको देखिनुका साथै त्यसपछि समाधानसमेत मागिएको सन्देश देखिएको थियो ।


0 comment