काठमाडौं - वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण गर्न अनलाइनमाध्यमबाट नै उजुरी दिन सक्ने व्यवस्था सुरु गरेको छ । मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले विभागमा पुगेर अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको शुभारम्भ गरे।
मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, बढी रकम असुलीदेखि शोषण नियन्त्रण गर्न अनलाइनमाध्यमबाट नै उजुरी दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए । उनले पीडितहरूले मोबाइल/कम्प्युटरमार्फत उजुरी र प्रमाण दर्ता गर्न सक्ने र उजुरी दर्ता भएपछि आवेदकले इमेल/सन्दशमार्फत प्राप्त ट्र्याकिङ कोड प्रयोग गरी आफ्नो मुद्दाको प्रगति जुनसुकै बेला हेर्न सक्ने बताए ।
मन्त्री यादवले २०५७ सालदेखि थन्किएर रहेका ४० हजारभन्दा बढी पुराना उजुरीका फाइलहरूलाई मिलाएर डिजिटलाइज गर्ने काम समेत भइरहेको उल्लेख गरे ।
वैदेशिक रोजगारीमा हुने ठगीलाई शून्यमा झार्ने लक्ष्य राखिएको उनको भनाइ छ । उनले प्रहरी र अनुसन्धान निकायहरूसँगको समन्वयमा ठगी गर्ने व्यक्तिहरूलाई जहाँ भए पनि कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिए ।
त्यसअघि मन्त्री यादवले वैदेशिक रोजगार विभागको कामकारवाहीको अनुगमन समेत गरेका थिए । सो क्रममा उनले सेवाग्राहीका गुनासा सुनेका थिए ।


0 comment