काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनलाई सर्वसम्मत ढंगबाट सम्पन्न गर्ने वातावरण बनाउन आन्तरिक संवाद र छलफल जारी रहेको बताएका छन्।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका कार्यक्रमबारे जानकारी दिन सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र देखिएका विषयहरू सकारात्मक रूपमा समाधान हुने विश्वास व्यक्त गरे।
शर्माले संविधानको मर्मविपरीत प्रदेशमा सत्ता समीकरण बनाउन नहुने कांग्रेसको स्पष्ट धारणा रहेको बताए। प्रतिपक्षविहीन प्रदेशसभाको परिकल्पना संविधानले नगरेको उल्लेख गर्दै उनले आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार रहेको बताए।
उनले वर्तमान राजनीतिक परिस्थिति तथा संविधान संशोधनसम्बन्धी छलफल चलिरहेका बेला संविधानको मूल भावना र लोकतान्त्रिक अभ्यासबाट विचलित हुन नहुने धारणा राखे।
उपसभापति शर्माले जननायक बी.पी. कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा साउन ६ र ७ गते देशव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ६ गते जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम तथा साउन ७ गते ‘जरा अभियान’पछि नयाँ अभियानको घोषणा गरिनेछ।


0 comment