काठमाडौं - बागमती प्रदेशमा नेकपा एमालेले तत्काल सरकार नछोड्ने रणनीति बनाएको छ। गत शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने निर्णयसँगै ६ जना विनाविभागीय मन्त्रीलाई आज सोमबार सामूहिक राजीनामा दिन लगाए पनि तत्कालका लागि स्थगित गरेको छ।
गत वैशाख २२ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था साउन १ गते देखि लागू हुने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मुख्यमन्त्री बानियाँले गत शुक्रबार प्रदेश प्रमुख कार्यालयमा मन्त्रालय कार्य विभाजनको सिफारिस गर्दै मन्त्रालयको सङ्ख्या घटाएर ८ पुर्याएका थिए।
कांग्रेसको केन्द्रीय नेतृत्वले एमालेसँगको सत्ता साझेदारी अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेसँगै बागमती प्रदेशमा एमाले नयाँ सत्ता समीकरणको जोड घटाउमा जुटेको थियो। यस्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने साथै आफ्ना मन्त्रीहरूले सामूहिक रूपमा आजै राजीनामा दिन निर्देशन नै दिएको थियो।
यद्यपि आज सोमबार काठमाडौंको कोटेश्वरमा बसेको संसदीय दलको बैठकले भने तत्कालका लागि उक्त निर्णयलाई होल्डमा राखेको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारमा बसिरहने वा अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भइरहेको संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए। ‘आज कुनै ठोस निर्णय भएको छैन। यो छलफल निरन्तर चलिरहन्छ १/२ दिनमा निष्कर्ष आउँछ’, उनले भने।


0 comment