काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको इच्छाविपरीत नेपाली आफैँले सरकार बनाएको बताएका छन्। आफ्नो पार्टीबाट निर्वाचित सांसद्हरूलाई काठमाडौंमा प्रशिक्षण दिने क्रममा ओलीले यो सरकार नेपाली आफैँले बनाएको बताए।

ओलीले बाह्य हस्तक्षेपविरुद्ध उठेर सरकार गठन भएको बताए। ओलीले भने, ‘हामी सार्वभौम सत्ता सम्पन्न राष्ट्र हौं भन्ने कुराको अनुभूति दिलाउनु यो सानो कुरा होइन। नेपाली जनता अहिले किन खुसी छन् भने नेपाली आफैँले सरकार बनाएका छन्।’ नेपालीले सरकार बनाएपछि बाहिरी शक्ति अत्तालिएको ओलीको दाबी छ।  

‘यति भन्न बाध्य भएको हुँ कि हामी हाम्रा छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहन्छौं। यहाँ सरकार बन्दा इगोको विषय बनाउनुपर्ने, आत्तिनुपर्ने केही पनि छैन,’ उनले भने।

उनले प्रचण्डको नेतृत्वमा सरकार बनाएपछि जनता खुसी भएको बताए। 'हाम्री छिमेकीहरू ढोकाबाट होइन। पर्खालमाथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागिपरेका छन्। नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँचजो थियो,' उनले भने। 
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसद्बाट विश्वासको मत लिँदैछन्।