काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राजनीतिक रूपमा अझै पनि एक्ल्याउने प्रयास भइरहेको बताएका छन्। उनले एमालेले विगतमा विभिन्न राजनीतिक धक्का बेहोरे पनि पार्टी समाप्त नभई थप नवीकृत भएर अघि बढ्ने दाबी गरे।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध विभिन्न प्रयास जारी रहे पनि एमाले आफ्नै बलमा अघि बढ्ने सामर्थ्य राख्ने बताएका हुन्।

“हामीले धक्का खाएका छौं, धक्का खाएको हो, सिद्धिएको होइन। हामी नवीकृत भएर अघि बढ्नेछौं भन्ने कुराको संकेत यही हो,” उनले भने। “हामीलाई एक्ल्याउने प्रयासहरू अझै निरन्तर भइरहेका छन्।”

एमालेले आफ्नो राजनीतिक यात्रामा आँधी, हुरी, तुफान, बाढीलगायत अनेक चुनौती सामना गर्दै आएको उल्लेख गर्दै ओलीले पार्टी कुनै बाह्य शक्तिको भरमा टिकेको संगठन नभएको दाबी गरे।

“एमाले अरू कसैलाई समातेर मात्र उठ्न सक्ने त्यान्द्रो होइन,” उनले भने, “हामी एउटा स्वतन्त्र, दह्रो, मजबुत र विशाल वृक्ष हौं। अरूको बलमा उभिएका पनि होइनौं।”

अध्यक्ष ओलीले प्रतिकूल राजनीतिक परिस्थितिबाट एमाले नआत्तिने र आफ्नै शक्ति तथा संगठनात्मक क्षमताका आधारमा पुनः सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै जनतामाझ अझ प्रभावकारी रूपमा प्रस्तुत हुने प्रतिबद्धतासमेत जनाए।