काठमाडौं - नेपाली कांग्रेसले पार्टी केन्द्रको निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा गराउने तयारी गरेको छ। केन्द्रमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि कांग्रेसले सातै प्रदेशमा सरकारबाट बाहिरिने प्रक्रिया अघि बढाएको हो।

यसैक्रममा औपचारिक निर्णयका लागि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बिहीबार दिउँसो ३ बजे दाङमा सरकारमा सहभागी पाँच मन्त्री, प्रमुख सचेतक तथा सचेतकको बैठक बोलाएका छन्। बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूको सामूहिक राजीनामाबारे औपचारिक निर्णय गरिने जनाइएको छ।

हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन्।

उता, सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले कांग्रेस सरकारबाट बाहिरिए पनि एमाले नेतृत्वको सरकार कायम रहने दाबी गरेका छन्। उनले कांग्रेसले औपचारिक रूपमा समर्थन फिर्ता लिएर मन्त्रीहरूको राजीनामा दिएपछि मात्रै सरकारको आगामी रणनीति र वैकल्पिक राजनीतिक समीकरणबारे निर्णय गरिने बताए। लुम्बिनी प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता चेतनारायण आचार्य नेतृत्वको सरकार छ।