काठमाडौं - प्युठान नौबहिनी गाउँपालिका–०५ डामृस्थित रोकी राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी ब्याक भई करिब ४०० मिटर तल खस्दा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । साथै, सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा पनि घाइते भएका थिए ।

दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएकोमा बुधबार साँझ चिकित्सकले कुण्डन घर्तीको मृत्यु भएको घोषणा गरेका छन्। अर्का घाइते बुढालाई थप उपचारका लागि राति बुटवल रिफर गरिएको छ ।

ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ निवासी २१ वर्षीय विकास परियार र ट्याक्टर साहुलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।