काठमाडौं - त्रिभुवन विश्वविद्यालयले भारतका चार विश्वविद्यालयबाट प्राप्त शैक्षिक प्रमाणपत्रका आधारमा प्रदान गरिएको ११४ विद्यार्थीको समकक्षता रद्द गरेको छ।
पाठ्यक्रम विकास केन्द्रले बुधबार सूचना जारी गर्दै मेघालयस्थित सीएमजी विश्वविद्यालयका १३, टेक्नो ग्लोबल विश्वविद्यालयका २, मणिपुरस्थित साङ्गाई विश्वविद्यालयका ९८ र प्रज्ञान इन्टरनेसन विश्वविद्यालयका १ विद्यार्थीको स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहको समकक्षता रद्द गरिएको जनाएको हो।
केन्द्रले यसअघि ३५ दिने सूचना जारी गरी सम्बन्धित विद्यार्थीलाई प्रमाण र आधार पेस गर्न आग्रह गरे पनि आवश्यक प्रमाण उपलब्ध हुन नसकेपछि समकक्षता रद्द गरिएको जनाएको छ। केन्द्रका निर्देशक प्राध्यापक रामकृष्ण तिवारीका अनुसार शैक्षिक प्रमाणपत्रको वैधता पुष्टि नभएकाले समकक्षता कायम राख्न नसकिएको हो।


0 comment