काठमाडौं - प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले विरोध कायमै राखेका छन् । सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनुपर्ने माग राख्दै निरन्तर विरोधमा रहेका विपक्षी दलका सांसदहरुले बुधबार पनि संसद बैठक सुरु हुने बितिकै उठेर विरोध जनाएका थिए ।

विपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद गीता गुरुङलाई बोल्न समय दिएका थिए।

सांसद गुरुङले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर सांसदहरूका प्रश्नको जवाफ दिन सभामुखमार्फत रुलिङको माग गरिन्।

उनले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका व्यक्तिबाट देशका युवाहरूले ठूलो आशा राखेको, तर पुरानो राजनीतिक शैलीभन्दा फरक नेतृत्व दिन नसक्दा त्यो आशा बिस्तारै निराशामा बदलिँदै गएको उनले बताइन् । उनले प्रश्न उठ्दा स्टण्टले छोपेर विषयान्तर गर्ने शैली अब पुरानो भइसकेको टिप्पणी गरिन् ।

सांसद गुरुङले सुकुम्बासीहरूलाई स्थानान्तरण गर्ने नाममा विना तयारी डुबान क्षेत्रमा राखिएको र सरकारको अव्यवहारिक नीतिका कारण ९ जनाको मृत्यु भइसकेको उल्लेख गरिन् । त्यस्तै अन्य विपक्षी दलका सांसदहरुले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनुपर्ने माग कायमै रहेको जनाएका छन् ।