काठमाडौं - नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्ती हटाउने सरकारी कार्यको कडा आलोचना गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उचित व्यवस्थापनबिना बस्ती खाली गराउने क्रममा भएको मानवीय क्षतिलाई ‘संस्थागत हत्या’को संज्ञा दिँदै सरकारको नियतमाथि प्रश्न उठाइन्।
सांसद गुरुङले डुबानको जोखिमबाट जोगाउने नाममा सुकुम्बासीलाई फेरि जोखिमयुक्त क्षेत्रमा सारिएको आरोप लगाउँदै सरकारको कदम अमानवीय भएको बताइन्। अव्यवस्थित रूपमा बस्ती हटाउँदा हालसम्म नौ जनाको मृत्यु भएको उल्लेख गर्दै उनले ती घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखिन्।
विद्यालय जाने बालबालिका, बिरामी र ज्येष्ठ नागरिकको अवस्था दयनीय बनेको उल्लेख गर्दै उनले सरकारलाई तत्काल नीति सच्याई सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न आग्रह गरिन्। उनले प्रधानमन्त्रीलाई सफल नेतृत्वका लागि सही दिशा आवश्यक रहेको भन्दै संवेदनशील ढंगले समस्या समाधान गर्न सरकारलाई आग्रह गरिन्।


0 comment