काठमाडौं - प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आज पुस २२ देखि विधिवत् सुरु गरिँदै छ।

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको साँखुस्थित शालि नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ। प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ।

माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्। 

बर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले जनाएको छ। बर्तालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउँछन्। बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि सुरु हुन्छ।