काठमाडौं - भोटेकोसी–त्रिशूलीमा आएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको उनको भनाइ छ ।
न्यौपानेका अनुसार क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा मेसिन परिचालन गरी सडक तथा पुलको अवस्था सुधार गर्ने काम अघि बढाएको छ ।
यसैबीच, भोटेकोसीको बाढीका कारण १२ जलविद्युत्गृहमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले भोटेकोसीमा गएको बाढीका कारण छ वटा जलविद्युत् र एक सोलार गृहमा प्रतक्ष्य क्षति पुगेको र बाँकी जलविद्युत्गृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएका छन् ।
प्रवक्ता ढकालका अनुसार अनुसार १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४.८ मेगावाटको अपर साञ्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिसुली थ्री ए, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र २५ मेगावाटको सोलार प्रणालीमा प्रतक्ष्य क्षति पुगेको छ ।
एघार जलविद्युत्गृह र एक सोलारगृहमा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको प्रवक्ता ढकालले बताउनुभयो । उक्त बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुर्याएको छ ।


0 comment