काठमाडौं - पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई आफ्नो जिम्मेवारीबाट पछि नहट्न र मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्।

मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति कम देखिएको भन्दै मन्त्री लम्सालले मंगलबार संसद् बैठकमा उनीहरूको मनोबल कमजोर हुन नदिन आग्रह गरेका हुन्।

महानगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नगर प्रहरीकै सक्रियताका कारण धेरै नागरिकको ज्यान जोगिएको दाबी गरे। “तपाईंहरूको कारण धेरै एम्बुलेन्स छिटो अस्पताल पुगेका छन्, धेरैले ज्यान जोगाएका छन्,” उनले भने।

मन्त्री लम्सालले सरकार महानगर प्रहरीको साथमा रहेको स्पष्ट पार्दै जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गर्न आग्रह गरे। उनले परिवर्तनका लागि केही समय लाग्ने भन्दै सकारात्मक भएर अघि बढ्नुपर्ने बताए।

“हामी फरक तरिकाले काम गर्दैछौं। परिवर्तन हुन केही समय लाग्छ, त्यसैले आशावादी हुनुपर्छ,” उनले भने।

उनले महानगर प्रहरीको कामलाई राज्य र नागरिक दुवैको हितसँग जोडिएको विषयका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान गर्नुपर्ने बताए।