काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्को पूर्वतयारी प्रभावकारी बनाउन सरकारलाई रुलिङ गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले मनसुनका कारण उत्पन्न जोखिमबारे चासो व्यक्त गरेपछि सभामुख अर्यालले बाढी, पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि आवश्यक तयारी सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
सभामुख अर्यालले यस वर्ष मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटना बढ्न थालेको उल्लेख गर्दै प्रभावकारी पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए।
उनले भने, “यस वर्षको मनसुन सुरु भई बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता घटनाबाट हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।”
सभामुखले विपद् व्यवस्थापनका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आवश्यक कदम चाल्न पनि आग्रह गरेका छन्।


0 comment