काठमाडौं - सोमबार तीनवटा सञ्चारगृहसहित कांग्रेस सभापति गगनकुमार थापाको घर अगाडि पार्किङ गरिएका गाडीको विषयलाई लिएर प्रतिनिधि सभामा सत्तापक्ष र विपक्षी दलका सांसदबीच जुहारी चलेको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले विपक्षी दलका सांसदले प्रयोग गरेको ‘राज्यले परिचालन गरेको’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाएकी छन्।
सांसद संग्रौलाले एक व्यक्तिको गतिविधिलाई आधार बनाएर सिंगो राज्यमाथि आरोप लगाउनु अनुचित भएको बताइन्। उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१ को ‘घ’ विपरीत राज्यको गरिमा र शिष्टाचारविरुद्ध हुने गरी अभिव्यक्ति दिइएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन्।
उनले नियम २१ को ‘घ’ मा राज्यको नैतिकता र शिष्टाचारको प्रतिकूल हुने गरी बोल्न नपाइने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै ‘राज्यले परिचालन गरेको’ भन्ने दाबी गरिएको भए त्यसको प्रमाण संसद्मै प्रस्तुत गर्नुपर्ने माग गरिन्।
“एउटा व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सिंगो राज्यलाई मुछ्न पाइँदैन। यदि सिंगो राज्यले परिचालन गरेको हो भने त्यसको प्रमाण यही सदनमा प्रस्तुत गर्नुपर्छ,” उनले भनिन्।
सांसद संग्रौलाले राज्य यस विषयमा संवेदनशील रहेको र शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाइसकेको अवस्थामा संसद्बाट भ्रम फैलाउने अभिव्यक्ति दिनु उचित नभएको टिप्पणी गरिन्।
उनले संसद्मा उठाइने विषय तथ्य र प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिँदै राज्यको प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति नदिन सबै सांसदलाई सचेत रहन आग्रह गरिन्।


0 comment