काठमाडौं - राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीको नदी किनारको भिरमा अड्किएका नागरिकको उद्दारको माग गर्नु राजनीतिकरण नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा नेता शाहीले नागरिकको उद्धारको माग गर्दा गृहमन्त्रीले यसलाई राजनीतिकरण गरियो भनी दिएको जवाफ आपत्तिजनक रहेको समेत बताए। उनले पानी बाँड्न गएको हुँ भन्ने पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर, लासको सिंढी चढेर राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिने भन्दै गृहमन्त्रीलाई जवाफ दिए ।
संसद् भवन र सांसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसद्को चुनाव लड्ने प्रवृत्ति राजनीतिकरण भएको उहाको भनाइ छ । उहाले आफैं सरकारमा बस्ने, आफैंका कार्यकर्ता लगाएर सञ्चार माध्यम र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने र त्यसको भिडियो बनाएर मिडियाबाजी गर्ने काम राजनीतिकरण भएको तर्क गरे ।
उनले देशको भौतिक संरचनामा आगो लगाउँदै, सिंहदरबार खरानी बनाएर नभइ जनताको सेवा गरेर राजनीतिमा आएको धारणा राखे ।


0 comment