काठमाडौं - निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि दुईतर्फी रूपमा अवरुद्ध भएको छ।  तुईनखोलामा माथिबाट ढुंगा खसिरहेको र सेती दोभान क्षेत्रमा लेदो बगेपछि सडक अवरुद्ध भएको हो।

सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार सोमबार साँझ ७:३० बजेसम्म सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहे पनि लगातारको भारी वर्षाका कारण पहिरो तथा लेदो पन्छाउन कठिनाइ भइरहेको छ।

सडक अवरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन रोकिएका छन्। सम्बन्धित निकायले रोकिएका सवारीसाधनलाई सुरक्षित स्थानमा राख्न तथा अनावश्यक जोखिम नलिन चालक र यात्रुलाई आग्रह गरेको छ।

निरन्तर वर्षा भइरहेकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन सबै यात्रु र सवारी चालकलाई सम्बन्धित निकायले अनुरोध गरेको छ।