काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले आफूलाई तर्साउने र आफ्नो मुख थुन्ने प्रयास गरेको आरोप लगाएका छन्।

सोमबार आफ्नै निवास अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाबारे प्रतिक्रिया दिँदै थापाले प्रश्न गर्ने हक र साहस कसैले पनि खोस्न नसक्ने बताएका हुन्।

उनले सरकारले प्रश्न उठाउनेहरूको आवाज दबाउने प्रयास गरिरहेको भन्दै त्यसप्रति खेद व्यक्त गरे। थापाका अनुसार रातोपुलस्थित निवास अगाडि दुई जना व्यक्तिले गाडी पार्किङ गरी छाडेका थिए। स्थानीयवासीले ती व्यक्तिहरू प्रशासनको गाडी चढेर त्यहाँबाट गएको जानकारी आफूलाई गराएको उनले बताए।

‘यो अचम्म लाग्ने कुरा कसले गरिरहेको छ त? सरकार आफैंले गरिरहेको छ। सरकार आफैं प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्न ओर्लिएको छ,’ थापाले भने।

उनले नेपाली कांग्रेसका तर्फबाट यस्ता गतिविधि खेदजनक रहेको उल्लेख गर्दै लोकतान्त्रिक अधिकारमाथि कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताए। ‘यी सबै कुराहरू खेदजन्य छन्। यस्ता गतिविधिले समाजमा गलत सन्देश दिन्छन्। कांग्रेसले उठाउने प्रश्न गर्ने हाम्रो हक कसैले खोस्न सक्दैन, न त हाम्रो हिम्मत नै कसैले कमजोर बनाउन सक्छ,’ उनले भने।