काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिहरूको पहिचान गरेर कानुनबमोजिम कारबाही गर्न सरकार, गृह मन्त्रालय र सुरक्षा निकायसँग माग गरिएको छ।
रास्वपाले यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुग्ने तथा सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा पार्ने प्रयास भएको भन्दै भर्त्सना गरेको छ। स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएकाले सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै पार्टीले प्रेस स्वतन्त्रताको पक्षमा सदैव दृढ रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू स्वीकार्य नभएको रास्वपाले जनाएको छ।
सोमबार कांग्रेसका सभापति गगनकुमार थापाको निवास र विभिन्न सञ्चारमाध्यमका कार्यालय गेटअगाडि अन्य सवारीसाधन आवतजावत गर्न नपाउने गरी शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो। ती गाडीलाई प्रहरीले क्रेनको सहायताले हटाएको छ । गाडी कसले किन राख्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


0 comment