काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निजी निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ ।

स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको उक्त गाडी सोमबार बिहान करिब ७ बजेदेखि निवासको गेट अगाडि यसरी पार्किङ गरिएको थियो कि मोटरसाइकलसमेत आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको थियो।

स्थानीय बासिन्दाले गाडी छाडेर चालक प्रहरीकै गाडीमा चढेर फर्किएको दाबी गरेका छन्। यद्यपि प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसअघि सोमबार बिहानै अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि यस्तै शैलीमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएका थिए। ती सवारीसाधनलाई प्रहरीले क्रेनको सहायताले हटाएको थियो।

प्रारम्भिक रूपमा जथाभावी पार्किङ गर्दा पर्ने असर देखाउने उद्देश्यले कसैले योजनाबद्ध रूपमा राजनीतिक नेता तथा सञ्चार संस्थाका कार्यालय र निवासको प्रवेशद्वारमा सवारीसाधन राखेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन।

हालै त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ विवादका क्रममा मुगुका गणेश नेपालीले आत्मदाह गरेपछि पार्किङ व्यवस्थापन, जरिवाना तथा त्यससम्बन्धी नीतिका विषयमा देशभर व्यापक बहस भइरहेको छ। पछिल्ला घटनालाई पनि सोही सन्दर्भसँग जोडेर विभिन्न कोणबाट हेरिएको भए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।