काठमाडौं - मुसहर समुदायका लागि बस्ती नै निर्माण गरेर सामाजिक सेवामा उदाहरण प्रस्तुत गरेकी बारा सिमराकी समाजसेवी राजी राणाले सुविधा सम्पन्न फुटबल एकेडेमी भवन निर्माण गरिदिएकी छन्। राणाले सिमरा रंगशालामा १ करोड २५ लाखको लगानीमा एकेडेमी भवन निर्माण गरिदिएकी हुन्। 

‘प्रभुराजी एनजेजेवाईसी एकेडेमी’ नाम दिइएको उक्त भवनको राणाले हालै उद्घाटनसमेत गरेकी छन्। उद्घाटनपछि भवनको निरीक्षण गर्दै राणाले खेलकुदको विकासका लागि थप सहयोग गर्न आफू तयारसमेत बताइन्। 

६० जना खेलाडीको क्षमता रहेको तीन तल्ले भवनमा पाँचवटा हल र ७ वटा कोठा छ। दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित नव जनजागृति युवा क्लबले एकेडेमीको परिकल्पना गरेको हो। नव जनजागृतिको परिकल्पनालाई राणाले साथ दिएकी हुन्।  नव जनजागृति त्यही क्लब हो, जसले सिमरामा जितपुरसिमरा गोल्डकप आयोजना गर्दै आएको छ। गोल्डकपको निरन्तरताकै कारण सिमरामा सुविधासम्पन्न रंगशाला निर्माण भइरहेको छ। उक्त रंगशालाकै कारण सिमरामा खेलकुदका गतिविधिले पनि निरन्तरता पाइरहेको छ। 

मोफसलको सुविधासम्पन्न रंगशालाका रूपमा विकसित हुँदै गरेको सिमरा रंगशालाबाट उत्पादन भएका दर्जनौं खेलाडीले अहिले देशविदेशमा खेलिरहेका छन्। एकेडेमी निर्माण भएपछि अझ बढी खेलाडी उत्पादन गर्न सकिने नव जनजागृति युवा क्लब तथा बारा जिल्ला फटबल संघका अध्यक्ष रामचन्द्र लामाले बताए। लामाले नव खेलाडीका लागि एकेडेमी निर्माण गरिदिने गुठीकी संस्थापक राणाप्रति आभार व्यक्त गरे।

राणा सामाजिक सेवामा परिचित नाम हो। मुसहर बस्ती निर्माणदेखि खेलकुद, खानेपानी, शिक्षा तथा विपन्न समुदायका लागि उनले निरन्तर सहयोग गर्दै आएकी छन्। उनी प्रचारमुखीभन्दा परिणाममुखी सामाजिक कार्यमा विश्वास गर्छिन्। सामाजिक कामका लागि स्थापित ‘प्रभुशमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठी’ बाट राणाले काम गर्दै आएकी छन्। पति प्रभुशमशेरको निधन भएपश्चात राणा आफै अग्रसर भएर समाजका हरेक क्षेत्रमा सहयोग गरिरहेकी छन्। उनको सक्रियतामा सिमरा क्षेत्रको सरकारी कार्यालय, बजार क्षेत्र तथा मन्दिर क्षेत्रमा सर्वसाधारणका लागि चिसो र शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ।

उमेर बढ्दै गए पनि राजी राणाको सामाजिक उत्तरदायित्व र सेवाभाव अझ सशक्त बन्दै गएको देखिन्छ। उनी गुठीमार्फत हुने लगानी नागरिकले प्रत्यक्ष लाभ लिने र दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा केन्द्रित हुनुपर्ने मान्यता राख्छिन्। विपन्न तथा आर्थिक समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै समुदायको आवश्यकता अनुसारका योजनामा उनी निरन्तर सक्रिय रहने गरेकी छन्।

यसअघि २०८० साल असोजमा राणाले जितपुरसिमरा उपमहानगरपालिका–६ मा २० मुसहर परिवारका लागि व्यवस्थित आवाससहितको मुसहर बस्ती नै निर्माण गराएकी थिइन्। उक्त बस्तीको पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यहरूले अवलोकन गरेका थिए। राणा पूर्वराजपरिवार निकट हुन्। पूर्वराजा ज्ञानेन्द्र सिमरा आउँदा राणाकै निवासमा बस्ने गरेका छन्।