काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पार्टी सभापति रवि लामिछानेसँग आइतबार बूढानीलकण्ठस्थित उनको निवासमा लामै छलफल गरे ।

चार घण्टाभन्दा बढी समय चलेको भेटवार्तामा सरकारको कार्यसम्पादनप्रति पछिल्लो समय बढ्दै गएको असन्तुष्टि, विशेषगरी सुकुमवासी समस्या समाधानमा भएको ढिलाइ तथा समसामयिक राजनीतिक घटनाक्रमबारे दुवै नेताबीच धारणा आदानप्रदान भएको बताइएको छ ।

बिहान करिब ११:३० बजे लामिछानेको निवास पुगेका प्रधानमन्त्री शाह दिउँसो करिब ३:१५ बजे बाहिरिएका थिए। स्रोतका अनुसार भेटमा सरकारको १०० दिनको कार्यसम्पादन, बढ्दो जनअसन्तुष्टि, सुकुमवासी व्यवस्थापन, मन्त्रिपरिषद् पुनर्गठन, पार्टी पदाधिकारी मनोनयन तथा रास्वपाको विधानसँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको थियो।

छलफलमा रास्वपाको संगठनात्मक व्यवस्थापन पनि प्रमुख एजेन्डाका रूपमा उठेको बताइएको छ। पार्टीमा वरिष्ठ नेतासहित ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनयन गर्ने विषयमा छलफल भए पनि अन्तिम निर्णय भने हुन बाँकी रहेको छ।

यसैगरी, पार्टी विधानका केही प्रावधानबारे पनि दुवै नेताबीच छलफल भएको जनाइएको छ। विशेषगरी संसदीय दलको नेता परिवर्तन गर्न सकिने व्यवस्था तथा वरिष्ठ नेता नियुक्तिसम्बन्धी प्रावधानप्रति बालेन पक्षले असन्तुष्टि व्यक्त गरेको बुझिएको छ।

रास्वपाको सार्वजनिक विधानअनुसार सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरेमा संसदीय दलको नेताको पद रिक्त हुने व्यवस्था छ। त्यस्तै, संसदीय दलभित्र अविश्वास प्रस्ताव वा प्रत्याह्वान पारित भएमा पनि दलको नेताको पद रिक्त हुने प्रावधान रहेको छ।

भेटवार्ताबारे प्रधानमन्त्री कार्यालय वा रास्वपाले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेका छैनन्।