काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्
निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र काठमाडौँ महानगरको अव्यावहारिक जरिवानाका कारण सर्वसाधारण र गरिब जनताहरू आत्महत्या गर्न बाध्य भएको बताउदै गणेश नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।
प्रसाईंले जनताले जुन आशा र भरोसाका साथ भोट दिएर नयाँ नेतृत्व ल्याए, अहिले उनीहरूबाटै गरिब र उत्पीडित वर्गको उठिबास लगाउने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे। प्रसाईंले देशमा कुनै पनि पूर्वाधार र बाटोघाटोको राम्रो व्यवस्था नभएको अवस्थामा सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य पारिएको जिकिर गरे ।
प्रसाईंले आफू कुनै पनि कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको तर व्यवस्थाको विकृतिका विरुद्ध र सर्वसाधारणको हकअधिकारका निम्ति आफ्नो लडाइँ र आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए ।
प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्ने प्रयास गरेपछि प्रहरीले प्रसाईंलाई कार्यक्रम गर्न नदिई नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पु¥याएको थियो।


0 comment