काठमाडौं - सुकुमवासीहरूको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरूले सरकारले सुकुमवासीहरूको दीर्घकालीन व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै हाल देखिएको डुबान, बसोबास र खाद्य संकटप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले सुकुमवासीहरूको उचित पुनःस्थापना तथा आवास व्यवस्थापनको माग गरेका छन्।

प्रदर्शनकारीहरूले हालै केही व्यक्तिलाई पक्राउ गरिएको घटनाप्रति पनि विरोध जनाएका छन्। पक्राउ परेकाहरूलाई विनाशर्त रिहा गर्न माग गर्दै उनीहरूले सरकार दमनकारी शैलीमा अघि बढेको आरोप लगाए।

उनीहरूका अनुसार सुकुमवासीहरूको व्यवस्थापन नहुँदा अहिले डुबान, विस्थापन तथा भोकमरीको समस्या झेल्नुपरेको अवस्था छ।

यसअघि शनिबार काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा डुबान प्रभावितहरूको अवस्थाबारे जानकारी लिन पुगेका जेनजी अभियन्ता माजिद अन्सारी, सरिश्मा थापासहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रदर्शनकारीहरूले उक्त पक्राउको विरोध गर्दै सबैलाई तत्काल विनाशर्त रिहा गर्न माग गरेका छन्।