जय मातृभूमि पार्टीले एक प्रेश विज्ञप्ति जारी गरी देशको समसामयिाक विषयमा पार्टीको धारणा राख्दै बिज्ञप्तिमा उल्लेख गरेको छ “नेपाल सरकारका अर्थ मन्त्रीले संघीय सदनको संयुक्त बैठकमा जेष्ठ १५, २०८३ मा बजेट प्रस्तुत गर्दा सरकारले मध्यम बर्गको विकासमा जोड दिने कुरा उल्लेख गर्नु भएको थियो । यस्तो अदूरदर्शी र अपरिपक्व भनाइले न्यून आय भएका, बेरोजगार, निरपेक्ष गरिवीको रेखामुनी रहेका, असहाय र सिमान्तकृत नागरिकले आफू सरकारको प्राथमिकतामा नपरेको महशुस गर्नु  स्वाभाविकै हो । निःसहाय र निर्धन नागरिकप्रति राज्यले देखाएको असंवेदनशीलतासँगै राज्य—नागरिकविचको संवाद, विश्वास र समझदारीमा कमी हुनु राज्य व्यवस्थापनको कमजोरी हो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले नागरिकको आयआर्जन र जनजीविकामा जटिल र असहज प्रभाव परिरहेकोे वर्तमान अवस्थामा आफ्नो देशको सरकारबाट सहयोग र सहानुभूति पाउनुको साटो उल्टो उपेक्षाभाव र वक्रदृष्टि पाउदा न्यून आयस्तरका विपन्न वर्गले सामाजिक न्यायको अनुभूति कहिले पाउने ?

राज्य व्यवस्थामा झमेला, झंझट, अपारदर्शिता, कुशासन र असंवेदनशीलताको कारण युवामा बढ्दो निराशा, अपमान र अन्यायको अनुभूतिले गर्दा जेन—जी आन्दोलन भएको र आमचुनाव पश्चात् सत्तामा आएको रा.स्व.पा. सरकारले समेत यस प्रकारको स्थितिमा खासै सुधार ल्याउन नसकेको धरातलीय यथार्थ हो । बढ्दो अन्यौल, अस्थिरता, दुर्घटना, अपराध, आत्मदाह जस्ता परिसूचकले यसको पुष्टि गर्दछ । नागरिकको समस्याप्रति तीनै तहका सरकारहरुको भूमिका असंवेदनशील, असंवेगात्मक र असहजकारी देखिएको छ । नागरिकहरुलाई जति बढी कर र जरिवाना थोपर्न सकियो त्यति सम्बन्धित सरकारको बजेट चलाउन सहज हुने मनस्थितिमा तीनै तहका सरकारहरु रहेकोले नागरिकहरु ठुलो मर्कामा परेको जग जाहेरै छ । यस्तो स्थितिमा तत्काल सुधार हुनु जरुरी छ ।

साथै, निर्वासित तिब्वती धर्मगुरु दलाई लामाको जन्मोत्सव जिल्ला सुरक्षा समितिको जानकारीमा काठमाडौंको स्वयम्भू क्षेत्रमा औपचारिकरुपमा मनाइएको खवरले नेपालले दशकौंदेखि अवलम्बन गर्दै आएको एक चीन नीति तथा असंलग्न परराष्ट्र नीतिमा प्रश्न चिन्ह लाग्ने अवस्था सिर्जना भएको छ । नेपाल कुनै पनि अवस्थामा शक्ति राष्ट्रको अन्तर्राष्ट्रिय भू—राजनीतिक द्वन्द्वमा जानेर वा नजानेर फस्नु हुदैन । उपर्युल्लिखित अवस्था, क्रियाकलाप र  गतिविधि सच्याउन सरकारलाई सचेत गराउँदै जनता जनार्दनलाई सुसूचित गराउन यो विज्ञप्ति जारी गरिएको  छ ।”

पार्टीले देशको समसामयिक विषयमा समय परिस्थिति अनुसार राज्यमा रहेका सत्तासिनलाई राष्ट्रवादी पार्टीको हैसियतले समयम समयमा घच्घच्याउदै आएको छ ।