काठमाडौं - बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन सरकारी अस्पतालमा ट्रमा सेवा विस्तार गर्ने, ट्रमा सेन्टरको क्षमता अभिवृद्धि गर्ने तथा आवश्यक कानुनी र नीतिगत व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।
नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएको महासङ्घले जनाएको छ ।
मुख्यमन्त्री बानियाँले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई उचित क्षतिपूर्ति सुनिश्चित गर्ने, घाइतेको उपचारलाई सहज बनाउने तथा सम्बन्धित निकाय र यातायात व्यवसायीसँग समन्वय गरी आवश्यक सुधार अघि बढाइने विश्वास व्यक्त गरे । उनले दुर्घटनापछि घाइतेको प्राथमिक उपचार सरकारी अस्पतालमै सुनिश्चित गर्ने दिशामा आवश्यक कानुनी तथा नीतिगत पहल गरिने पनि बताए ।
भेटका क्रममा महासङ्घले विशेषगरी काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक जाम, दुर्घटनापछिको क्षतिपूर्ति वितरण प्रक्रिया तथा घाइतेको उपचारसँग सम्बन्धित समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो ।
महासङ्घका अध्यक्ष सिटौलाले हालको बिमा व्यवस्थाअनुसार घाइतेको उपचार खर्च अधिकतम रु तीन लाखसम्म मात्र उपलब्ध हुने भएकाले महँगा निजी अस्पतालमा उपचार गराउँदा व्यवसायी र पीडित दुवै आर्थिक रूपमा समस्यामा पर्ने गरेको बताए।
उनले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, दुर्घटनापछिको उपचार प्रणाली सुधार गर्ने र क्षतिपूर्ति वितरण प्रक्रियालाई व्यावहारिक तथा समयानुकूल बनाउन प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए ।
सिटौलाले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन जिपिएस प्रणाली जडान, अनलाइन टिकटिङ, सिसी क्यामेरा जडान तथा यात्रुले तोकिएको स्थानबाट अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत वातावरण निर्माण गरिदिन पनि आग्रह गरे ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सङ्घीय राजधानी रहेको प्रदेश भएकाले देशभरका ६० प्रतिशतभन्दा बढी सवारीसाधनको चाप यहीँ रहने उल्लेख गर्दै ट्राफिक सुधार, दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर सक्रिय रहने बताए ।
यातायात व्यवसायीहरूले ट्राफिक व्यवस्थापन, दुर्घटनापछिको उपचार प्रणाली र क्षतिपूर्ति व्यवस्थामा सुधार भए सार्वजनिक यातायात सेवा थप सुरक्षित, भरपर्दो र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।


0 comment