काठमाडौं - मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको मृत्यु प्रकरणको छानबिनका लागि नेपाल प्रहरीले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै घटनाको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनका अनुसार घटनाको अनुसन्धान तथा सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

गृहमन्त्री गुरुङले घटनाका सबै पक्षको वस्तुगत छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिने तथा प्राप्त निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए।

मुगुका गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालस्थित बर्न सेन्टरमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। प्रारम्भिक जानकारीअनुसार पार्किङमा राखिएको उनको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ह्विल लक लगाई नियन्त्रणमा लिन खोजेपछि उनले आत्मदाहको प्रयास गरेका थिए।