काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता भएको बताएका छन्।
मंगलबार राजधानीमा आयोजित प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको बताए।
'हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्र लगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ,'उनले भने, 'अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।'
संविधान निर्माणपछि केही समूहहरु अस्थिरताका लागि काम गर्दै आएको उनले दावी गरे। भने,' सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्छ ।'
संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै राजनीतिक क्रान्ति पूरा भएको भन्दै अब आर्थिक क्रान्तिमा जानुपर्ने समय आएको उनको भनाइ छ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको उनको आरोप छ। जसका कारण ठूलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनको भनाइ छ।
0 comment