काठमाडौं - गणेश नेपाली मृत्यु प्रकरणमा तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए।

 उनीहरुलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा आज निधन भएको छ।

२५ वर्षीय नेपाली मोटरसाइकलमा राइड सेयरिङ गर्थे। बिहीबार दिउँसो राहदानी विभाग अगाडि उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक गरेको थियो।  केहीबेर सुरक्षाकर्मीसँग विवाद परेको र त्यसपछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए।