काठमाडौं - काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् । 

बिहीबार दिउँसो राहदानी विभागको गेट नं. ३ अगाडि मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएका हुन्।  आफ्नै शरीरमा आगो लगाएका ती युवकको अवस्था गम्भीर रहेको छ।

हाल भक्तपुरमा बस्दै आएका नेपालीलाई तत्कालै उद्धारगरी उपचारका लागि अस्पताल लगिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

राहदानी विभागको गेट अगाडि  मोटरसाइकल राखेर गएका उनको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’लगाएको थियो। त्यसपछि उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल स्थानमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।  शरीरका विभिन्न भागमा आगोले जलेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सडक र सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी र नगर प्रहरीले बाटोमा पार्किङ गरेको अवस्था ह्विल लक गर्ने गरेको छ । ह्विल लक खोल्नका लागि जरिवाना तोकिएको जरिवाना तिर्नुपर्छ । मनपरी जरिवाना शुल्क तोकिएकको भन्दै त्यसको चर्को विरोध हुँदै आएको छ ।