काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्याप्रति आफू गम्भीर रहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सुकुम्वासीको वर्तमान अवस्थाबारे प्रश्न गरेपछि लामिछानेले संक्षिप्त प्रतिक्रिया दिएका हुन्।

सञ्चारकर्मीले काठमाडौंका विभिन्न क्षेत्रबाट हटाइएका सुकुम्वासीलाई होल्डिङ सेन्टरमा राखिएपछि अहिले त्यहाँबाट समेत हटाउन खोजिएको र त्यसका कारण उनीहरू खानबस्नसमेत समस्या झेलिरहेको उल्लेख गर्दै धारणा मागेका थिए।

जवाफमा लामिछानेले, “यो विषयमा म एकदमै गम्भीर छु। धेरै नै गम्भीर छु। मैले बुझेको छु,” भने।

सरकारले काठमाडौंका विभिन्न स्थानबाट हटाइएका सुकुम्वासीलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो। पछिल्लो समय उनीहरूलाई त्यहाँबाट पनि हटाउने तयारी गरिएको भन्दै प्रभावित परिवारहरूले आफूहरू थप समस्यामा परेको गुनासो गर्दै आएका छन्। यससँगै उनीहरूको बसोबास, खाद्यान्न तथा दैनिक जीविकोपार्जनसम्बन्धी समस्या झन् जटिल बनेको छ।