काठमाडौं - प्रतिनिधिसभाको जेठ १७ गते भएको घटनामा संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै जाँचबुझ समितिले सभामुखलाई प्राप्त विशेषाधिकारको प्रभावकारी प्रयोग गर्न सुझाव दिएको छ।

सभामुखको सचिवालयले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार समितिले प्रतिनिधिसभा बैठकमा अमर्यादित तथा उत्तेजक अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट तत्काल निष्कासनसम्मका व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

समितिले बैठक कक्षमा शान्ति, सुव्यवस्था र अनुशासन भंग गर्ने, सभाको प्रतिष्ठामा आँच पुग्ने गरी ध्वंसात्मक गतिविधि गर्ने, बल प्रयोग गर्ने वा गर्न खोज्ने तथा कुनै प्रकारको भौतिक क्षति पुर्‍याउने सदस्यलाई सभामुखले मर्यादापालकमार्फत तत्काल बैठक कक्षबाट निष्कासन गर्न सक्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सुझाव दिएको छ।

प्रतिवेदनमा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था भएका आचारसंहिता तथा नियमहरूको पूर्ण पालना सुनिश्चित गर्न सांसद स्वयं, संघीय संसद् सचिवालय र सभामुखले गम्भीरतापूर्वक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, सांसदका लागि अभिमुखीकरण तथा आचारसंहितासम्बन्धी सचेतना अभिवृद्धि, दलीय नेतृत्व र प्रमुख सचेतकहरूको भूमिका प्रभावकारी बनाउने, सुरक्षा तथा प्रविधि व्यवस्थापनमा सुधार गर्ने, अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने तथा आचरण अनुगमन समितिलाई सक्रिय बनाउने सुझाव पनि समितिले दिएको छ।

यसका साथै संसद् सचिवालयको जनशक्ति र प्रविधि सुदृढीकरण, राजनीतिक दलहरूको आन्तरिक अनुशासन र उत्तरदायित्व अभिवृद्धि, नजिर व्यवस्थापन, सिसिटिभी निगरानी तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउने र कार्यव्यवस्था परामर्श समितिको सक्रियता तथा प्रशासनिक सहजीकरणलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ।

समितिले घटनाबाट भएको भौतिक क्षतिको विवरणसमेत संकलन गरेको छ। प्रतिवेदनअनुसार सभामुख बस्ने कुर्सीअगाडिको टेबलको दायाँ कुनो चर्किएको, टेबलको अगाडिपट्टि जोडिएको काठको बार फुटेको तथा प्रतिनिधिसभा हलको उत्तरतर्फ रहेको प्रवेशद्वारको दायाँ पल्लामा क्षति पुग्नुका साथै छेस्किनी फुटेको उल्लेख गरिएको छ।

प्रतिनिधिसभाको जेठ १७ गते भएको घटनाको छानबिन गर्न प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिमा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य रहेका थिए।